धनगढी – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।
मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले सो जानकारी गराएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ।
टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ।
यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो। तर पूर्वसहमतिअनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर जानकारी गराएको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।
‘सरकारमा सहभागी हुने भनेकै हौं। तर सरकार हाम्रो मागप्रति संवेदनशील देखिएन। पूर्वसहमति अनुसार हामीलाई मन्त्रालय दिइएन। त्यो माग पूरा नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं,’ उनले भने।
यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री शाहबीच भएको भेटवार्तामा सात दिनभित्र सरकारमा सहभागी हुने सहमति भएको थियो। तर सहमति कार्यान्वयनमा नआउँदा नागरिक उन्मुक्ति सरकारमा सहभागी हुन सकेको छैन।













