काठमाडौं- साफ यू–२० च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका छन् ।
साउन १७ गते भारतमा भएको खेलमा दुबै टीमले मध्यान्तरपछि गोल गरेका हुन् । खेलको ६३ औं मिनेटमा मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बाङ्लादेशलाई अग्रता दिलाएका थिए ।
त्यसको पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। बैकल्पिक खेलाडी निरन्जन मल्लले गोल गर्दै नेपाललाई लयमा फर्काएको थियो। त्यसपछि दुवैतर्फ गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
दोस्रो हाफको सुरुआतमा नै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेञ्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बाङ्लादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेञ्चका बैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाएका थिए ।
बराबरी खेलेसँगै नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई भने उछिनेको छ । नेपालको फाइनल पुग्ने सम्भावना अब माल्दिभ्सले भारतलाई हराउनुपर्ने छ । यदि भारतले माल्दिभ्सलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने सपना समाप्त हुने छ ।
नेपालले चार खेलबाट सात अंक जोडेको छ । समान खेलबाट १० अंक जोडेको बाङ्लादेश फाइनल पुगेको छ । भारत र माल्दिभ्सले आज साँझ ७ः१५ बजे अन्तिम लिग खेल खेल्नेछन् ।













