धनगढी- कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसन विजयी भएका छन्।
समुह ‘सी’ अन्तर्गतको आजको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपस्चिमान्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। प्रतियोगितामा सुदूरपस्चिमान्चलको यो दोस्रो
हार हो।
सुदूरपश्चिमाञ्चलले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। घोडाघोडीको ब्याटिङमा ओपनर विपिन विक्रम शाहीले सर्वाधिक ३१ रन योगदान दिए। सञ्जय बोहराले २२ तथा कृष्ण कार्कीले २० रन बनाए। ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सञ्जय र कृष्णले अविजित ३२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।
सुदूरपश्चिमाञ्चलको बलिङमा वीरेन्द्र चन्द र पारस सुनारले २र२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १/१ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको सुदूरपस्चिमान्चल एकेडेमीले १८.५ ओभरमा ११० रनमा सबै विकेट गुमायो।
सुदूरपस्चिमान्चलको लागि आशिष लुहारले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। सन्दीप बिस्टले २७ तथा किरण कार्कीले १४ रन बनाए। घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेत एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। यस्तै सञ्जय बोहराले ३ विकेट लिए भने कृष्ण कार्कीले २ तथा भुपेश जोशीले १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका सञ्जय बोहरा घोषित भए। आजको दोस्रो खेलमा समुह ‘ए’ अन्तर्गत शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले विजयी सुरुवात गर्ने क्रममा खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ११२ रनको विशाल अन्तरले पराजित गरेको छ।
शुक्लाफाँटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो। खप्तडको लागि पुकार चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
खप्तडलाई सस्तोमा सीमित गर्न शुक्लाफाँटाका दायाँ हाते पेसर कैलाश ऐर एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच घोषित ऐरले ३.१ ओभरमा १५ रन खर्चिए। सुशील रावल, भरत चन्द, वसन्त खत्री र सुरज तिरुवाले १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो। शुक्लाफाँटाको लागि ओपनर अशोक बिस्टले सर्वाधिक ४१ रन योगदान दिए जनक्रममा उनले ३५ बलमा ६ चौका प्रहार गरे। किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए। वसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए।
खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रबी बिस्टले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए। प्रकाश पाण्डेले २ तथा मुकेश बिस्ट, नगेन्द्र उपाध्याय र दीपक टमाटाले १/१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत चौथो दिन पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमी बिच तथा दोस्रो खेल १ बजे कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टर बिच हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।














