बैतडी- प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको उपाधि कैलालीले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ६ विकेटले पराजित गर्दै कैलालीले उपाधि कब्जा गरेको हो। बैतडीले दिएको ६३ रनको लक्ष्य कैलालीले १४.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि नीलम पाण्डे १९ र स्नेहा महराले १८ रन जोडे।
बैतडीका लागि वसन्ती बोहराले २ र जानकी थापाले १ विकेट हात पारे। त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १८.४ ओभरमा ६२ रनमा समेटियो। जसमा करिष्मा थापाले सर्वाधिक १० रन बनाइन्। कैलालीका लागि ईश्वरी विष्टले ३ विकेट हात पारिन्। ईश्वरी वुमन अफ द फाइनल चुनिएको स्कोरर नरेन्द्रराज भट्टले बताए।
यसैबीच बझाङकी कविता जोशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुन सफल भइन्। कैलालीकी रुवी पोदार बेस्ट ब्याटर र कैलालीकै लक्ष्मी साउद बेस्ट बलर चुनिएका छन्।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली आगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ। काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफ सहभागी रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।













