बैतडी- मैयादेवी मेमोरियल उन्नाइस वर्षमुनिको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले मधेश प्रदेशलाई ६ विकेटले हराएको छ। मधेशले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा भेटायो। जसमा सावित्री धामीले अविजित ४३ र नीलम पाण्डेले २२ रनको योगदान गरे। मधेशका लागि मीना महतोले २ र प्रतिमा शाहले १ विकेट हात पारे।
यसअघि चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो। उसका साना प्रविनले सर्वाधिक ३४ रन बनाइन्। सुदूरपश्चिमका लागि अनु कडायतले २, करिश्मा थापा र स्नेहा महराले १र१ विकेट लिए। सुदूरपश्चिमकी सावित्री धामी प्लेयर अफ द म्याच घोषित भइन्।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा प्रतियोगिता माघ १२ गतेदेखि शुरु भएको हो।
प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोली सहभागी छन्। नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानी स्व। श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।
सन् २०२४ मा युएईमा हुन गइरहेको एसिया कप छनोट र सन् २०२५ मा मलेशिया र थाइल्यान्डमा हुने विश्वकपलाई समेत मद्देनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ।













