काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको विभागीय नेपाल पुलिस क्लवले सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन बनाएको हो ।ओपनरलाई सस्तैमा गुमाएको पुलिसका लागि मध्य क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्रतिस्प्रर्धात्म लक्ष्य दिएको हो ।
पुलिसले ओपनरद्वय दिलिप नाथ र कुशल भुर्तेललाई क्रमस व्यक्तिगत ६ र ५ रनमा गुमाएको थियो । त्यसपछि आएका मिडल अडरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे ।
पुलिसका लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी ४४ रनको योगदान गरे । अर्जुन साउदले ३२ रनको योगदान गर्दा आरिफ शेखले २६ रनको योगदान गरे । सागर ढकाल ७ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशी, विकाश आग्री र मिलन बोहराले समान दुई दुई विकेट लिँदा एक विकेट दिपक चन्दले लिएका हुन् ।













