कञ्चनपुर- महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।
शुक्रबारको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गरेको हो । गण्डकीका विशाल सोनारी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एपीएफले २५–२०, १४–२५, ३०–२८, १४–२५ र १५–१३ ले पराजित गरेको हो । एपीएफका विजय थापा म्यान अफ द म्याच घोषित भए ।
माघ १४ देखि सुरु भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशका गरी १० टीमको सहभागिता थियो । सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको विजेता टिमले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । चौथो हुने टिमले ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका दुई वटा संस्करण धनगढीमा सम्पन्न भएका थिए ।













