ललितपुर- सुदूरपश्चिम प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कमल ओलीले कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गरेपछि सुदूरपश्चिम पहिलो स्वर्ण पदक जितेको हो।
सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार बागमती प्रदेशका साहिल नेपाली ५/४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्।
यो तौल समूहमा प्रदेशका खेलाडीले मात्र पदक जितेका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए।
समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे। त्यसअघि कमलले रुरिहाङ र साहिलले करणलाई हराएका थिए।
त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक जितेकी छिन् ।
असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई ७/१ ले हराउँदै पहिलो स्थान हासिल गरेको थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।
सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्। चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् ।
पुलिसले ९, एपिएफले ३, बागमती २ र सुदूरपश्चिमले १ स्वर्ण पदक जितेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोली आर्मीसहित ६ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १५ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।
करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगिताको आयोजना जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु। १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।













