धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको छ । शिव शक्ति युवा क्लबले फाल्गुन ८ गते देखी वडा स्तरीय खुल्ला शिव शक्ति कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजकले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक रमेश साउँदले प्रतियोगिताका विजेताले नगद ५० हजार सहित, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टिमलाई २१ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको संयोजक साउँदले बताएका छन् ।
स्थानीय स्तरमा रहेका खेलाडीहरूको क्षमता प्रस्फुटन गराई खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भुवन बोगटीले बताएका छन् । तीन वर्ष देखी निरन्तर रूपमा हुँदै आएको उत्त प्रतियोगितालाई आगामी वर्षहरू पनि निरन्तरता दिँदै जाने योजना रहेको उनले बताए ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्र बिसीले वडा भित्र रहेका क्लबहरूलाई क्रमागत रूपमा सहयोग गर्ने क्रममा यस वर्षको खेल क्षेत्रको १ लाख बजेट शिव शक्ति युवा क्लबलाई प्रदान गरिएको बताएका छन् ।
भौतिक विकासलाई मात्रै विकास ठान्ने प्रवृत्ति पछिल्लो समय हाबी भएको भन्दै उनले यस्ता खालका मानवीय विकासलाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको बताए । खेल मानव स्वास्थ्यकालागि पनि महत्त्वपूर्ण भएको बताउँदै बिसीले एक उत्कृष्ट खेलाडीले देशकै उज्ज्वल गर्न सक्ने क्षमता राख्ने बताए ।
उनले खेलमा सहभागी हुने सबै खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै खेल विवाद रहित तरिकाले खेलाउन आयोजकलाई आग्रह गरे । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा वडा नम्बर ८ रहेको छ । प्रतियोतिामा करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।













