काठमाडौँ- मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको शुक्रवारको खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२ रनले हराएको छ ।
टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८३ रन बनायो । सुदूरपश्चिम प्रदेशका लागि ओपनर अभिषेक पालले ५८ रनको योगदान गरे । उनले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरे ।
नारायण जोशीले पनि टोलीको खातामा ४० रन थपे । किरण ठगुन्नाले ३० रन बनाए । दीपक चन्दले अविजित २२ रन जोडे । पुलिस क्लबका बलर शरद भेषावकरले तीन र मञ्जित श्रेष्ठले दुई विकेट हात पारेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन मात्र बनाउन सक्यो । पुलिस क्लबका लागि शंकर राणाले अविजित ९१ रन बनाए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ६२ बलमा पाँच छक्का र नौ चौका हिर्काए ।
अभिषेक कार्कीले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशका बलर दीपक चन्द र शेर मल्लले दुई–दुई विकेट लिए । नारायण जोशी म्यान अफ दि म्याच घोषित भए ।













