काठमाडौं- तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला महिला तथा पुरुष हात म्याराथन प्रतियोगिताको उपाधि बैतडीका विजय रावत र एपीएफका पुष्पा भण्डारीले जितेका छन् ।
काठमाडौंको बूढानीलकण्ठमा भएको राष्ट्रिय खुला हाफ म्याराथनको पुरुषतर्फ विजय रावतले १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै उपाघि जित्दा महिलातर्फ विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ५ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।
हाफ म्याराथनको पुरुष विधामा एपीएफका किरण सिंह बोगटी दोस्रो, मधेस प्रदेशका अजितकुमार यादव तेस्रो हुँदा महिलातर्फ राममाया बुढा दोस्रो र सुशासन कार्की तेस्रो भइन ।
पाँच किलोमिटर फन दौडको पुरुषतर्फ धनु मानन्धर र महिलातर्फ सर्मिला बस्नेतले उपाधि जिते । पाँच किलोमिटर फन दौडमा नेपाली कांग्रेसका उपसभापति एवं पूर्वकानुनमन्त्री धनराज गुरुङले सहभागी भएर प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको हाफ म्याराथनका विजेता महिला पुरुष खेलाडीहरुले ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्दा पाँच किलोमिटर फन दौडका विजेता प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० र तेस्रो हुनेले पाँच हजार प्राप्त गरे ।













