धनगढी- सुदूरपश्चिमका पहाडी जिल्लाका बालबालिकाका लागि पाठ्यपुस्तक वितरण भइसकेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यसवर्ष भने शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पु¥याएको हो । पहाडी सात जिल्लासहित तराईका दुई जिल्ला कैलाली–कञ्चनपुरमा पनि पाठ्यपुस्तक पुगिसकेका छन् ।
सुदूरपश्चिमका ९ जिल्लामा १९ लाख १५ हजार थान पाठ्यपुस्तक आवश्यक रहेकोमा आइतवारसम्म झण्डै १५ लाख पाठ्यपुस्तक वितरण भइसकेका छन्। जनक शिक्षा सामग्री केन्द्रले चैतको १३ गतेदेखि बाजुराबाट पाठ्यपुस्तक वितरण सुरु गरेको थियो ।
प्रदेशका सात पहाडी जिल्ला बाजुरा, दार्चुला, डडेलधुरा, डोटी, अछाम, बैतडी र बझाङका पनि अधिकांश दुर्गम भेगमा पाठ्यपुस्तक पुगिसकेका छन् । यी मध्ये तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका अधिकाश ठाँउमा पनि पाठ्यपुस्तक वितरण भइसकेका छन् ।
हालसम्म ९५ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसेकेको जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिमका कार्यालय प्रमुख रामबहादुर कुँवरले बताए । पहाडी जिल्लाका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको र भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाउने भएको उनले बताए । तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा बिक्रि वितरण जारी नै रहेको उनको भनाइ छ ।
उनका अनुसार कैलालीमा ८० प्रतिशत र कञ्चनपुरमा ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसेकेको छ । केही व्यापारीहरुको रकम स्थानीय तहबाट निकासा नभएकाले बिक्री वितरणमा ढिलाइ भइरहेको उनले बताए ।
















