बझाङ- बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका-३ वटा केन्द्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्यायाइएको छ। शनिवार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएको हो ।
साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट चैनपुर ल्याइएको बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।
निर्वाचन क्षेत्र भरिका ९४ वटा मतदान केन्द्रका मतपेटिका सदरुमकाम पुगिसकेपछि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् ।
जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा हिजो शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँपत्रिकाबाट













