कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पुर्नबास नगरपालिकाको अरनिको युवा क्लबले हात पारेको छ ।
शनिवार साँझ महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा महेन्द्रनगरस्थित कञ्चन समाजलाई ३–० गोलले पराजित गर्दै अरनिकोले उपाधि हात पारेको हो ।
अरनिको युवा क्लबका लागि खेलको पहिलो हाफमा मदनबहादुर जिसी र अनिल तामाङले १–१ गोल गरेका थिए भने दोस्रो हाफमा अरनिकोका उमेश लामाले तेस्रो गोल गर्दै कञ्चन समाजलाई पराजित गरेको आयोजक कञ्चनपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
वैशाख ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका ११ क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधि विजेता समूह रु ५१ हजार एक सय ११, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भएको छ भने उपविजेताले रु २५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।
उपाधि विजेतारउपविजेता टिमलाई भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक जोशी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं २५ बाहिनीका बाहिनीपति सहायक रथी मनोज थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।













