धनगढी- कैलालीको जोशीपुर गाउँपालिका– ६ सिमरीका फूलराम चौधरी अधियाँ लिएको करिब एक बिघा जमिनमा लगाएको गहुँबाली भित्र्याउँदै थिए ।
उनले केही काटेर खेतमै सुकाउन राखेका थिए, केही गहुँ काट्न बाँकी थियो । गत साता भएको आगलागीले खेतमा लगाएको पूरै गहुँबाली जलेर नष्ट भएपछि उनलाई परिवारको खाने गुजारा कसरी गर्ने भन्ने पिरलो छ ।
लगाएको बाली सबै सखाप भएपछि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ता रहेको उनले बताए । ‘गुजाराको माध्यम खेतबारी नै हो, लगाएको गहुँ सबै जलेर नष्ट भयो,’ चौधरीले भने, ‘छाक टार्न समस्या हुने भयो ।’ १० जनाको परिवार अधियाँमा लिएको खेतीमा निर्भर रहेको उनले बताए ।
सिमरीकै रामचन्द्र कठरिया पनि खेतमा लगाएको गहुँबाली जलेर नष्ट भएपछि गुजारा कसरी गर्ने भन्ने चिन्तामा छन् । आगलागीबाट आठ कट्ठा जमिनमा लगाएको गहुँबाली जलेर खरानी भएपछि आफू समस्यामा परेको उनले गुनासो गरे ।
‘बाली लगाउँदा भएको सबै लगानी र आफ्नो मिहिनेत खरानी बन्यो,’ उनले भने, ‘आगलागीले धेरै किसान समस्यामा परेका छन् ।’ आफ्नोसहित पाँच भाइको करिब डेढ बिघामा लगाएको गहुँबाली जलेर नष्ट भएको कठरियाले बताए ।
९ वैशाखमा भएको आगलागीबाट जोशीपुर गाउँपालिकाको सिमरी र पकडिया तथा बर्दगोरिया गाउँपालिकाको जोकाहीमा गरी करिब आठ बिघा जमिनमा लगाएको गहुँबाली नष्ट भएको तथ्यांक प्रहरीले संकलन गरेको छ ।
जोकाहीमा स्थानीय एक महिलाले बारीमा लगाएको आगो खेतमा सल्किएर सँगै जोडिएको सिमरी र पकडियासम्म पुगेको थियो । गर्मीयाम सुरु भएसँगै कैलालीमा आगलागीका घटना बढेका छन् । शुक्रबार मात्रै लम्कीको डुडेझारी जंगलमा भीषण आगलागी भएको छ ।
















