काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध पार्टीले गर्ने भनेको सङ्घर्षको औचित्य र आवश्यकताबारे पनि छलफल भएको छ । बैठकमा सहभागीहरूले आन्दोलनबारे पार्टीले स्पष्ट कार्यदिशा र धारणा बनाउनुपर्ने बताएका छन् ।कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीले आन्दोलन घोषणा गर्दै गर्दा सहकारी पीडितलाई संरक्षण गर्न हो वा भ्रष्टाचारविरुद्ध हो अथवा संसदीय समिति बनाउन दबाब दिने उद्देश्यले भन्ने प्रस्ट हुनुपर्ने बताए । उनले बैठकमा बोल्ने अधिकांश नेताहरूले गृहमन्त्रीको राजीनामाका लागि आन्दोलन गर्ने हो भने त्यो आन्दोलन कहाँ गएर टुङ्गिने हो रु पार्टीले निर्धारण गर्नुपर्ने बताए । त्यस्तै कतिपय नेताहरूले पार्टीका कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हैरान भइसकियो भनेर गुनासो आउने गरेको भन्दै पार्टी आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गनुपर्ने धारणा समेत राखेका छन् । क्यान्टोनमेन्ट, गिरिबन्धु र कुकुल्यान्ड जस्ता घोटालाको पूर्ण भ्रष्टाचार नियन्त्रणका लागि लड्नुपर्ने पनि नेताहरूले बताएका छन् । पार्टीले अवसर पाउँदा पार्टीका ठुला ५ नेता बसेर निर्णय गर्ने तर अफ्ठेरो पर्दा सबैलाई किन बोलाउने भन्ने धेरै सदस्यको धारणा आएको काफ्लेले जानकारी दिए ।
उनले पार्टीका भ्रातृ सङ्गठनमा खल्तीका मान्छे हाल्दा सङ्गठन कहाँ छ रु भनेर सोध्नुपर्ने अवस्था आएको भन्दै यसमा गल्ती भयो भनेर सम्बन्धित नेताहरूले माफी माग्नुपर्ने समेत बताए । जारी बैठकमा महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन र ठगीविरुद्ध सडक र सदन दुवै स्थानबाट सङ्घर्ष गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।
आन्दोलनमा गिरीबन्धु टी स्टेटको जग्गा घोटालाको विषय समेत समेट्नुपर्ने आवाज उठेपछि त्यसलाई समेत समेटेर पार्टीले निर्णय गर्ने बताइएको छ । कांग्रेसले शुक्रबारबाट आन्दोलन थाल्ने बताइसकेको छ ।रातोपाटीबाट













