धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले सबै प्रकारका अपांगताका सवाललाई नीति तथा कार्यक्रममा राख्नु पर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) ले बिहीबार धनगढीमा आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताका सवालमा सुदूरपश्चिम प्रदेशका मन्त्रालय तथा सरोकारवाला निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा सबै प्रकारका अपांगता भएका व्यक्तिका सवाललाई मूलधारमा ल्याउन आवश्यक रहेकोमा जोड दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले पछिल्लो पटक खानपान, रहनसहन, आधुनिक प्रविधिका कारण मानसिक स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएकोले त्यसको निराकरणका लागि प्रदेश सरकारले नीति तथ कार्यक्रम ल्याएर आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । उनले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताका सवालमा देखा परेका समस्यालाई जनचेतना मार्फत सचेत गराइनु पर्ने बताए ।

सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख जयन्ती गिरीले सुदूरपश्चिम प्रदेशमा अपांगता भित्र पनि मनोसामाजिक अपांगताको समावेशीकरणको अवस्था तथा सरकारको विद्यमान नीति र आगामी योजना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुदूरपश्चिममा विभिन्न समस्याका कारण मनोसामाजिक अपांगताको सवाल बढ्दै गएको पाइएकोले त्यसको रोकथामका गर्नुपर्ने बताइन् । प्रदेश सरकारले विगतका वर्षमा पनि अपांगता भएका व्यक्तिका सवाललाई समेतट्दै आएको उनले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणी पाण्डेले सकारात्मक सोच नै मनोपरामर्शका मूल मन्त्र भएको बताए । उनले आफ्नो घर व्यवहार घरायसी कारणले घरघरमा समस्या देखिएको बताए । उनले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर मन्त्रालय अघि बढ्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका हेमराज खड्काले सुदूरपश्चिम प्रदेशमा स्वास्थयभित्र पनि मानसिक स्वास्थ्यको अवस्था तथा आगामी योजना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कोशिशका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कोशिशको परिचय, परियोजना तथा कार्यक्रमको उद्देश्यमाथि कार्यक्रम अधिकृत पदमराज जोशीले प्रकाश पारेका थिए । सो कार्यक्रम धनगढी उपमहानगरपालिकामा सञ्चालित रहेको छ ।














