धनगढी- सुदूरपश्चिम प्रदेशकी विनाविभागीय मन्त्री लक्ष्मी विकले मुक्त हलियाको पुनःस्थापनाका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । सञ्चार प्रतिष्ठान नेपाल कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको मुक्त हलियाका मूलभूत सवालहरुमा नीतिगत संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
उनले भनिन् ‘मुक्तीको घोषणाको लामो समय हुँदा पनि पुनःस्थापना हुन नसक्नु,भएका पनि न्यायोचित नहुनु विडम्बनाको कुरा हो । मुक्त हलिया,कमैया,कम्लहरीको पुनःस्थापनाका लागि मैले सकेको भूमिका खेल्छु ।’ मन्त्री विकले भनिन् ‘अझै कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् । जुन मन्त्रालय पाए पनि मैले यी मुद्धाहरु मन्त्रीपरिषद् बैठकमा लैजाने तथा नीति,कानून निर्माणका लागि पहल गर्छु ।’
विकास भनेको भौतिक संरचना मात्रै नभएर सामाजिक मुद्धामा पनि हुनु पर्ने बताउँदै उनले आफूले सकेसम्म यस्ता सामाजिक मुद्धामा पहल गर्ने बताइन् । उनले आफू सधै मुक्त हलिया,कमैया,कम्लहरीको साथमा रहने तथा हातमा हात मिलाएर अगाडि बढ्ने बताइन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक र डा. ताराप्रसाद जोशीले आफूहरुले मुक्त हलियाका समस्या समाधानका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले मुक्त कमैयाको हालको अवस्थाका बारेमा प्रस्तुतिकरण राखेका थिए । उनले सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका तीन जिल्ला गरि नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुनःस्थापन प्याकेज पाएको बताए । १४ हजार दुई सय ४६ जनाले परिचयपत्र प्राप्त गरेको तथा एक हजार एक सय ३५ परिवारले परिचय पत्र पाएर पनि पुनःस्थापना प्याकेज नपाएको महासंघले जनाएको छ । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तीको घोषणा गरेको थियो ।













