कैलाली- जिल्ला ट्राफिक कार्यालय कैलालीले ३२ हजार तीन सय २० सवारी साधन कार्बाही गर्दा २ करोड ३३ लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०।८१ को असार मसान्त सम्ममा उक्त राजस्व संकलन गरेको हो ।
ट्रक २ हजार ९ सय ३९,बस २ हजार ८२, जिपकार ४ हजार १७ ,ट्रयाक्टर २ हजार ७ सय ४३ ,मोटरसाईकल १६ हजार ६ सय ११ र अन्य ३ हजार ९३८ सवारी साधन कर्बाही गरेको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक गंगाबहादुर सारुले निशाना न्युजलाइृ जानकारी दिए ।
मापसे गरेका, लेन अनुशासन पालना नगरेका,ओभरलोड,स्पिड,सिटबेल्टको प्रयोग नगरेको,बिना हेल्मेट मोटरसाइकल चलाएको,मोटर साइकलमा ३ जना सवार र पूर्णरुपमा ट्राफिक नियमको पालना नगरेका सवारी साधनलाई कार्बाही गरिएको उनले बताए । त्यस्तै कैलालीमा २ सय ५७ सवारी साधन दुर्घटना हुँदा ७८ जनाको मृत्यु हुनाको साथै १ सय ६४ जना गम्भीर घाइते भएको उनले बताए ।
साधारण घाइते १ सय १९ छन भने घटनामा संलग्न दुईपाँग्रे गाडी १ सय ५४ रहेको उनले बताए । दुर्घटना संख्या भने १ सय ९२ रहेको छ ।
सवारी साधन दुर्घटनामा ७ वटा चौपायाको मृत्यु भएको र ३ घाइते भएको प्रमुख सारुले बताए । दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक कार्यालयले विधार्थीका लागि ३९ कक्षा संचालन गर्दा ५ हजार १ सय ९२ विद्यार्थी सहभागी भएको उनले बताए । नयाँ लाइसेन्स लिने चालकलाई जिम्मेवारी बहन गराउन र ट्राफिक नियमको बारेमा जानकारी दिन ४३ पटक कक्षा संचालन गर्दा ७ हजार १ सय १२ जना सहभागी भएको उनले बताए ।
हरेक शुक्रबार मादकपदार्थ सेवन गरी लेन अनुशासन र ओभर स्पिड सम्बन्धी कसुर गर्नेलाई ५३ पटक साप्ताहिक कक्षा लिएको तथा २ हजार ७ सय २१ जना सहभागी भएको उनले बताए । ‘दुर्घटना न्युनिकरणका लागि हरसम्भव कोशिस गरिरहेका छौँ’, उनले भने ‘धनगढी बजार क्षेत्रमा सडक निर्माण भइरहेको बारे चालकलाई जानकारी गराइ रहेका छौँ ।’ उनले ६ लेनको हकमा भने सवारी साधन चलाउने चालकलाई स्पिड कन्ट्रोल, जेब्रा क्रसिङ गर्दा दायाँबायाँको इन्डिकेटर प्रयोग गर्नुपर्ने कुरामा ट्रााफिकले सचेतना गरिरहेको बताए ।
‘हामी बढीजसो अटोचालकसँग ५ मिनेट स्पोर्टमै ट्राफिकले प्रशिक्षण गर्ने गरेका छौँ’, उनले भने ‘छाडा चौपायाबाट सावधानी गराउन र चालकले सजिलै देख्न सकुन भन्ने उदेशयले त्यस्ता पशुको घाँटीमा रिफ्लेक्टिक स्टिकर जडान गरिरहेका छौँ । हुलाकी राजमार्ग र आसपासका सडकमा जनचेतना मुलक होडिङ बोर्ड पनि झुण्ड्याइएको छ ।’














