धनगढी- कैलालीको गेटास्थित गेटा अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले आगामी भदौबाट ‘मेमोग्राफी’ सँगै अन्य सेवा पनि विस्तार गर्ने भएको हो ।
‘मेमोग्राफी’का लागि मेसिन आइसकेको र जडान भइरहेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । ‘हामीले सुदूपश्चिममै पहिलो पटक मेमोग्राफी सेवा सुरु गर्न लागेका छौँ । मेसिन आइसकेको छ । जडानको कार्य भइरहेको छ’, उनले भने ‘आगामी भदौको पहिलो साताभित्रै सेवा सञ्चालन गर्ने गरि तयारी भइरहेको छ ।’
उनले भने ‘स्तन क्यान्सरको अवस्था बारे पत्ता लगाउन यो मेसिन प्रयोग हुन्छ । यहाँ कहीँ पनि यो सेवा नहुँदा अहिलेसम्म बाहिर गएर जचाँउनु पर्ने अवस्था छ । यो सेवा हामीले यहाँ दिँदा धेरै बिरामीलाई राहत हुन्छ ।’
त्यस्तै आगामी भदौबाट नै अस्पतालले बिरामी भर्ना गरेर उपचार सेवा दिने उनले जानकारी दिए । उनले भने, ‘आगामी भदौको पहिलो साताभित्रै इन्डोर सेवा सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । अहिले हामीसँग ५० शय्याको स्वीकृति छ । तीन सय शय्याको स्वीकृतिका लागि दरबन्दी सहित स्वास्थ्य मन्त्रालयमा माग गरेका छौँ ।’
भदौ पहिलो साताबाटै २४ सैँ घण्टा आकस्मिक सेवा,कार्डियोग्राफी तथा एउटा शल्यक्रिया कक्षबाट मध्यम शल्यक्रिया गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले जानकारी दिए ।
हाल अस्पतालमा जनरल ओपिडी,हाडजोर्नी तथा नसारोग,जनरल सर्जरी,दन्तरोग सेवा,जनरल मेडिसिन, अल्ट्रासाउण्ड, प्रयोगशाला सेवा,इन्डोस्कोपी,गाइनोक्लोजी, फार्मेसीलगायतका सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । गत कार्तिक १ गतेबाट ओपीडी सेवा सुरु गरेको सो अस्पतालमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरि ६५ जना कार्यरत रहेको अस्पतालले जनाएको छ ।













