धनगढी- संघर्ष गरे सफलता हासिल गर्न बाहिर जानु पर्देन भन्ने उदाहरणीय बनेका छन डा.ललित चौधरी । सानै उमेरदेखि चञ्चल सोभावका उनी बुवा समरबहादुर चौधरी र आमा कमला चौधरीका माईला छोरा हुन । खेलकुदका शोखिन उनी क्रिकेटमा जिल्ला स्तरीय अन्डर १९ प्रतियोगितामा समेत सहभागी भएका थिए ।
उनका दाजु प्रेम चौधरी क्रिकेटका राष्ट्रिय खेलाडी भएकाले पनि आफ्नो रुची खेलकुदमा भएको उनी बताउँछन् । धनगढी उपमहानगरपालिका–२ रातोपुलमा बस्दै आएका उनले २०६१ सालमा प्रथम श्रेणीमा ऐश्वर्य बिद्या निकेतनबाट एसएलसी पास गरे । मध्यम परिवारमा जन्मेका उनको एउटै लक्ष्य थियो डक्टर बन्ने । संघर्ष गर्दै जाँदा प्लस २ पास हिमालय ह्वाईट हाउसबाट गरेका उनले एमविविएस नेपालगञ्ज मेडिकल कलेजबाट गरे । हाडजोर्नी तथा नसारोग बिषयमा एमडी नेपाल मेडिकल कलेज र फेलोसिप मेरुदण्ड सम्बन्धी डा. विनोद बिदुक्षको अण्डरमा ग्राण्डी ईन्टरनेशनल हस्पिटलबाट गरेको उनी बताउँछन् । उनी बिगत डेढ बर्षदेखि हाडजोर्नी र मेरुदण्डको जटिल अप्रेशन गर्दै आएका डा. चौधरी हाल पाँच महिनादेखि नोभा अस्पतालमा मेरुदण्ड अप्रेशन,मेरुदण्ड खस्केको,भाँचिएको सफल अप्रेशन गर्दै आएका छन् ।
उनी कैलालीमै जन्मेका स्थानीय एशोसियशन अफ स्पाइन सर्जरी अफ नेपाल,नेपाल मेडिकल रिकोग्नाइज पहिलो स्पाइन सर्जन हुन भने थारु समुदायको सुदूरपश्चिमकै पहिलो स्पाइन सर्जन हुन् ।
‘हाम्रो चौधरी समुदायमा धेरै कमले पढेलेखेका हुन्छन्’ उनी भन्छन् ‘मलाई मेरा बुवाआमाले सहयोग गरेर हाडजोर्नीको डक्टरसम्म बनाउनुभयो । मेरो प्रगतिमा बुवाआमा पनि सन्तुष्ट हुनुहुन्छ । म आमा बुवालाई धन्यवाद दिन चाहान्छु ।’
उनी भन्छन् ‘मैले एमविविएस सकिएपछि जीवनमा ठूलो संघर्ष गरे । मैले हाडजोर्नी सम्बन्धी पढ्दा १८ महिना कोठा भित्र पढे । जेलजस्तै भित्र बसेर पढियो । त्यतिबेला मेराे मेडम डा.रेनुका चाैधरीले ठूलाे साथ र सहयाेग गरिन् । अहिले उनी नेपालगञ्ज मेडिकल कलेजमा गाइनाेक्लाेजिष्ट र ओविएस पढ्दैछिन । हाडजोर्नी सम्बन्धी पढेर मेरुदण्डको बारेमा नै पढे । मेरो मनमा सोचेका कुरा १६ वर्षपछि पूरा भए ।’
डा. चौधरी भन्छन् ‘म कहाँ आएका बिरामी ठीक भएर जाने गरेका छन् । यहाँ सम्भव नहुने हाडजाेर्नीकाे अप्रेशन पनि गरेँ । मैले अनावश्यक खर्च पनि गराउँदैन आवश्यक भएको मात्रै चेकजाँच गर्ने गरेको छु । कम पैँसामै सरल र सहज तरिकाले उपचार गर्ने मेरो इच्छा छ त्यही किसिमले गरिरहेको छु । उहाँहरुले पनि एकदमै सकारात्मक रुपमा लिइरहनुभएको छ ।’
धनगढीमा पहिलो पटक हाडजोर्नीको बिशेषज्ञ डाक्टर भएर आउँदा आफूले समस्या भोग्नु परेको उनी बताउँछन् ।
उनले भने ‘पहिलो पटक धनगढीमा आउँदा मेरुदण्डको अप्रेशन गर्ने सामान नहुने अहिले सामान मगाएर यहाँ उपचार सुरुवात गरेको छु । केही समय मलाई गाह्रो भयो । संघर्ष गर्दै गए । स्पाइनल ट्यूमर को पनि अप्रेशन गरेँ । फ्युजन सर्जरी,मेरुदण्डको हड्डीहरु भाँचिएको पनि सर्जरी गरियो ।’
उनले भने ‘मैले पढिसकेपछि फेलोसिप सकिएपछि मैले काम काठमाण्डौँ मै पाइरहेको थिए । विदेश पनि नजाने काठमाण्डौँ पनि नबस्ने आफ्नै ठाउँमा फर्किन्छु भनेर यहाँ फर्केको हुँ । यहाँका मेरुदण्डका बिरामी टाढा लगेर उपचार गर्दा धेरै खर्च हुन्छ ।’
काठमाण्डौँ तथा भारतमा लगेर मेरुदण्डको अप्रेशन गर्दा खर्चिलो हुने र यहाँ सुरुवात गर्दा बिरामीलाई सहज भएको उनी बताउँछन् ।













