धनगढी- धनगढी उपमहानगरपालिकामा हात्तिपाईले रोग निवारण सम्बन्धी इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे गरिएको छ । स्वास्थ्य तथा जनसंख्याया मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाले शुक्रबार धनगढी उपमहानगरपालिका वडा नं. ६ मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी सो सर्भे गरिरहेको जनाएको छ ।
वडा अध्यक्ष भागीराम चौधरीले शनिवार वडा नं. ६ का सबै २९ वटा टोलमा स्थानीय स्वमय् सेविका, स्वास्थ्यकर्मी र केन्द्रको टोलीले स्याम्पल सर्भे गर्ने जनाए । उनले वडा नं. ६ मा फरक फरक घरका १०५ जनाको एन्टिजेन किट मार्फत् हात्तीपाईले रोगको परीक्षण गरिने बताए ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका सरोज महासेठले धनगढी उपमहानगरपालिकाका केही वडामा स्याम्पल छनौट गरी सर्भे गरिरहेको बताए । उनले धनगढीसंगै कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा सर्भे गरिने बताए । सर्भेबाट विगतमा गरिएको हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल भएको भेटिएमा आमऔषधि सेवन कार्य बन्द गरिने बताउँदै उनले आम औषधि खुवाउने कार्यक्रम सफल भएको भेटिएमा थप दुई वर्ष आमऔषधि सेवन कार्यक्रम निरन्तरता दिइने बताए ।
केन्द्रका अनुसार प्रत्येक एक सय जनामा बढिमा २ जनामा हात्तिपाइले रोगको जीवाणु भेटिएमा आमऔषधि खुवाउने कार्यक्रम सफल भएको मानिन्छ भने प्रत्येक एक सय जनामा ३ वा सो भन्दा बढिमा हात्तिपाइले रोगको जीवाणु भेटिएमा आमऔषधि खुवाउने कार्यक्रम असफल भएको मानिन्छ । रगतको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएका व्यक्तिको रातिको समयमा पुनः रगत परीक्षण गरिने महासेठले बताए ।
उनले हात्तिपाईले रोग सार्ने जिवाणु (माइक्रोफाइलेरिया) रातिको समयमा सक्रिय हुने भएकाले रातिको सयममा समेत परीक्षण गर्नुपर्ने बताए । उनले दिउँसो परीक्षण गर्दा पोजेभिट आएपनि रातिको परीक्षणमा नेगेटिभ आएकोमा हात्तिपाईले रोग नरहेको मानिने बताए । उनले दिउँसो परीक्षण गर्दा मरिसकेको जिवाणुको केही अंश भएपनि रगतमा मिसिएर रहेको हुँदा पनि रगतको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिने गरेकोले रातिको परीक्षण गर्दा देखिएको पोजेटिभलाई मात्रै हात्तिपाईले रोग रहेको मानिने बताए । कैलालीमा लगातार ११ वर्षदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाउने कार्यक्रम चलिरहेको छ ।













