धनगढी- कैलालीको गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै आएकी छन् ।
उनले दुई वटा टहरामा च्याउखेती गर्दै आएकी छन् । विगत सात वर्षदेखि च्याउखेती गर्दै आएकी चौधरीले च्याउ विक्रीबाट वार्षिक करिब दुई लाख बचत हुने गरेको बताइन् ।
उनले भनिन् ‘च्याउखेतीमा सुरुमा टहरा बनाउन खर्च लाग्छ,पछि च्याउको बीउ र परालमा मात्रै खर्च लाग्ने हो । यसमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिन्छ ।’

पहिले हिउँदको समयमा मात्रै कन्य च्याउ उत्पादन गर्दै आएकी चौधरीले यस वर्षबाट बर्खामा दुधे च्याउ उत्पादन गरेको बताइन् ।
ब्याकवार्ड सोसाइटी एजुकेशन नामक गैह्र सरकारी संस्थाले गत बैशाखमा ५ दिने च्याउखेती सम्बन्धी तालिम दिएपछि दुधे च्याउखेती गरेको उनले बताइन् ।
उनले भनिन् ‘यस पटक वर्खामा दुधे च्याउखेती गरेकी थिएँ । त्यसको मूल्य पनि बढी थियो । प्रतिकिलो ४ सयका दरले विक्री गरे । दुधे च्याउ स्वादिलो पनि हुन्छ ।’ ‘अहिले कन्य च्याउखेती गरिरहेकी छु । अहिले सम्म ७० किलो बेचिसके’ उनले भनिन् ‘अहिले कन्य च्याउ दुई सयदेखि दुई सय पचासमा विक्री हुन्छ ।’

उनले भनिन् ‘छ जनाको परिवार छ । च्याउखेतीबाट राम्रै घरखर्च चलेको छ । च्याउखेतीबाट छोटो समयमा राम्रै आम्दानी गर्न सकिन्छ ।’
वर्षमा तीन लट च्याउ उत्पादन गर्न सकिने उनले बताइन् । एक लटको च्याउ पाँचदेखि सात पटक काट्न मिल्ने उनको भनाइ छ ।
‘च्याउ विक्रीका लागि समस्या छैन्’ उनले भनिन् ‘पहिले नै अर्डर आउँछ ।’

चौधरीले च्याउखेती सङ्गै डेढ कठ्ठा जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएको बताइन् । ‘मैले सिजन अनुसारको अर्गानिक तरकारीखेती गर्दै आएकी छु’ उनले भनिन् ‘तरकारीबाट पनि राम्रै आम्दानी हुन्छ । तरकारी बिक्रीबाट वर्षमा करिब एक लाख बचत हुन्छ ।’तरकारी बेच्न पनि समस्या नहुने बताउँदै उनले अत्तरिया बजारमा लगेर बिक्री गर्ने गरेको बताइन् ।














