कैलालीको गोदावरी नगरपालिलका–२, अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत आवाशिय विद्यालयले अपांगता भएका बालबालिकालाई अध्यापन गर्दै आएको छ । यस विद्यालयको हालको अवस्था,समस्या लगायतका बिषयमा विद्यालयका प्रधानाध्यापक देवी साउँदसँग टंक कुँवरले गरेको कुराकानीमा आधारित विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
यो विद्यालय स्थापना २०६७ सालमा १० जना बालबालिकाबाट भएको हो । एकता समाज नामक संस्थाले अपांगता भएका बालबालिका घरभित्र बसेको देख्दा हामीले अपांगता भएका बालबालिकका लागि विद्यालय खोल्नुपर्छ भनेर स्थापना भएको हो । जसले आफू दुःख कष्ट गरेर पढ्नु भएको थियो । उहाँहरुले अपांगता भएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्यायो भने हामी जस्तै बन्न सक्छन् भनेर यो विद्यालय खोल्नुभएको हो ।
त्यो बेला निजीबाट विद्यालय चलेको थियो । जंगलमा बसेर बालबालिकालाई पढाउँथे । पहिलेको टिमले धेरै संघर्ष गर्नुभएको हो । एकता समाजको टिमले गर्दाखेरी यो विद्यालय स्थापना भएको हो । अहिले यो विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म सरकारी कोर्षका बिषय पढाइ हुन्छ । यस विद्यालयमा शारीरिक अपाङ्गता भएका ७२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । मुगुको एक जना ,दाङका एक,हुम्लाका एक जना र अन्य सुदूरपश्चिमका ९ जिल्लाका विद्यार्थी रहेका छन ।
आवाशिय छात्रवृतिमा प्रतिविद्यार्थी ४ हजार आउँछ । संघीय सरकार मार्फत गोदावरी नगरपालिकाबाट आवाशिय छात्रवृति आउँछ । सरसफाइ गर्ने निजीस्रोतबाट राखेका छौँ । कर्मचारीको व्यवस्थापनका लागि नगरपालिकाले खर्च दिने गरेको छ । मुख्य समस्या बालबालिकालाई घरमा लगाउने लुगाकपडाको हुन्छ । पहिले शिक्षकको समस्या थियो । अहिले एक स्थायी,एक राहत,दुई जना नगर शिक्षक,दुई जना निजी शिक्षक छन् । अहिले शिक्षकको अभाव छैन् ।
बालबालिकाहरुको संख्या बढ्दै गईरहेको छ । छात्रबासको अभाव छ । एउटा अर्को छात्रबास भइदिएको भए हुन्थ्यो । खाना पकाउने भान्साको पनि अभाव छ । यी कुराको व्यवस्थापन भइदिएको भए बालबलिकाको व्यवस्थापन राम्रो सँग गर्न सकिन्थ्यो । विद्यालय क्षेत्र वरिपरी पर्खाल भएको भए अझै सुरक्षित हुन्थ्यो ।
पर्खालको पनि अभाव छ । हाम्रो यस विद्यालयबाट पढेर गएका दुईचार जना बच्चाहरु कक्षा १२ पास गरेर आफ्नो रोजगारीमा लागेका छन् । उनीहरु पहाड तिरका थिए । उनीहरुले पढ्न पाएका थिएनन् ।
यसको लक्ष्य भनेको बालबालिकालाई पढाएर मात्र हुँदैन् । आपांगता भएका बालबालिका सक्षम भएर आत्मनिर्भर कसरी बनाउने,सीप सिकाएर हुन्छ कि कसरी हुन्छ गरिखाने कसरी बनाउने भन्ने हो । पढेर मात्र हुँदैन् । गरिखाने हुनुपर्छ भन्ने यस विद्यालयको लक्ष्य पनि हो । अपांगता भएका बालबालिकाले आत्मनिर्भर भएर बाच्न पाउन भन्ने हाम्रो लक्ष्य हो ।
शारीरिक अपांगता,कम्मरमूनि नचल्ने,घरभित्रै बसिराख्ने बालबालिका,विद्यालय जान नसक्ने बालबालिकाहरुलाई हामीले यस विद्यालयमा ल्याउन खोजेको हो । लक्ष्य त हाम्रो कक्षा १२ सम्म पढाएर सीप सिकाएर आत्मनिर्भर बनाउने हो । आमाबावुले फोनबाट सोधखोज गरी रहेका हुन्छन । दशै तिहारमा लामो बिदा हुन्छ त्यतिखेर बिद्यार्थीहरु घरपुगेर आउने गर्दछन् ।













