धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका डम्बर सुनारले व्यवसायिक कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले विगत ४ वर्षदेखि स्थानीय कुखुरा पालन गर्दै आएका छन् ।
सुनारले तीन कठ्ठा जग्गामा दुई हजार बयस्क कुखुराको क्षमता भएको खोर निर्माण गरेर व्यवसायिक कुखुरा पालन गरेका छन् ।
उनले रु. ३५ लाख लगानीमा व्यवसायिक कुखुरा पालन सुरु गरेको बताए । उनले विसं. २०७७ सालमा अर्नब बहुउदेश्यीय फर्म दर्ता गरेर व्यवसायिकरुपमा कुखुरा पालन सुरु गरेको बताए । “वर्षमा दुई लट कुखुरा उत्पादन हुन्छ”, उनले भने,–“स्थानीय जातको कुखुरा हुर्कन छ महिना लाग्छ । वर्षमा दुई लट बिक्री गर्न सकिन्छ । मैले एक वर्षमा करिब तीन हजार पाँच सय कुखुरा बिक्री गर्छु । खर्च कटाएर वर्षमा रु.१० लाखसम्म बचत हुन्छ ।”

“कुखुरा बिक्री गर्न कुनै समस्या हुँदैन् । बजारमा सहजै बिक्री हुन्छ”,उनले भने,–“खोरमै पनि किन्न आउँछन् । प्रतिकिलो पाँचदेखि छ सयमा बिक्री हुन्छ ।” उनले स्थानीय जातका कुखुरा पालनमा मेहनत र खर्च लाग्ने भएपनि राम्रै आम्दानी हुने गरेको बताए ।
“चितवनबाट एकदिने चल्ला ल्याएर पाल्छौँ । चिसो समयमा चिसोबाट जोगाउन सक्नुपर्छ । गर्मी समयमा पनि गर्मीबाट जोगाउन सक्नु पर्छ”, सुनारले भने,– “मेहनत त लाग्छ । हामी घरका पाँच जनाले हेरचाहा गर्ने गरेका छौँ ।”
उनले कुखुराका चल्ला पनि बिक्री गर्ने गरेको बताए । उनले भने,–“मैले चल्ला पनि बिक्री गर्छु । वर्षमा करिब ६० हजार चल्ला बिक्री हुन्छन् । एक हजारमा आठ वटा चल्ला बिक्री गर्छु । यसमा खर्च कटाएर रु.दुई लाख देखि दुई लाख पचास हजारसम्म बचत हुन्छ ।”
“सात जनाको परिवार छ । अन्य आम्दानीको स्रोत केही छैन् । सबै घर खर्च छोरा छोरीको पढाइ यसैबाट धानेको छु”, सुनारले भने,–“छोरी ल्याव पढ्दैछन् । दुई छोरा निजी विद्यालयमा पढ्छन् । सबै खर्च यसै व्यवसायबाट धानेको छु ।”
“योभन्दा अगाडि कुनै व्यवसाय थिएन् । केही न केही गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनमा लागेको हुँ । यसबाट राम्रै आम्दानी भएको छ”, उनले भने,– “जग्गाको पनि सदुपयोग भएको छ । घरमै बसेर आफ्नै ठाउँमा व्यवसाय गरिएको छ । म सन्तुष्ट छु ।”

उनले अहिले खोरमा करिब तीन हजार चल्ला हालेका छन् । व्यवसायलाई अझै विस्तार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट विसं.२०७९ सालमा रु ८० हजार अनुदान पाएको सुनारले बताए ।

सुनार व्यवसायी मात्रै नभएर राजनीतिकर्मी पनि हुन् । राजनीतिमार्फत समाजसेवा पनि गर्दै आएका छन् । उनी नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश समिति सदस्य समेत हुन् । व्यवसायसँगै राजनीतिमा समेत समय दिने गरेको उनले बताए ।













