बैतडी- भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् । बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् ।
दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक मल प्रयोग गरेर तरकारी फलाउन थालेको चार वर्ष भयो । रोगकिरा नियन्त्रण गर्न खेतबारीमा गौमूत्र छर्किने गरेकी छन्् । उनको बारीमा अहिले काउली, पालुङ्गो, धनियाँ, मुला र रायो प्रशस्तै फलेका छन् । यद्यपि तरकारीले उचित मूल्य नपाउँदा उनी निराश बनेकी छन् । जैविक मल प्रयोग गर्ने बबेत गाउँका किसानलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले बिउबिजन, सिँचाइ, पोलिहाउस जस्ता अनुदानका कार्यक्रम नदिएको विमलाले गुनासो गरिन् ।
बबेत गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, न त ढुवानीको सुविधा छ । दशरथ चन्द नगरपालिकाले १३ लाख रुपियाँ खर्च गरेर चार वर्षअघि निर्माण गरेको सडकमा घाँस र बुट्यान उम्रिएपछि किसानले घण्टौँ पैदल हिँडेर डोकोमा तरकारी बेच्दै आइरहेको स्थानीय ललित वडले बताए । जैविक मल हालेको तरकारी विषादी हालेको तरकारीको भन्दा कम मूल्यमा बेच्नु परेको अगुवा किसान विमला वडले दुःखेसो पोखे । “गोठेमल र गौमूत्र प्रयोग गरेर बेबत गाउँका १५ जना किसानले अर्गानिक तरकारी खेती सुरु गरेका छौँ,” उनले भने, “झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारका पसल पसल चहार्दै हिँड्नु पर्छ । बिचौलियाले बाहिरी जिल्लाबाट आउने तरकारी भन्दा सस्तोमा किन्न खोज्छन् । घर फर्काएर ल्याउनुभन्दा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”
बैतडीस्थित कृषि ज्ञान केन्द्र र नगरपालिकामा रहेको कृषि शाखाले बजारमा बिक्री भइरहेको तरकारीमध्ये विषादी प्रयोग गरेको र नगरेको तरकारी छुट्याइदिए स्थानीय किसानलाई सहज हुने अगुवा किसान जगदीश वडले बताए । अर्गानिक तरकारी खेती गर्ने किसानको बारीदेखि बजारसम्मको तरकारी परीक्षण गरिदिन उनले माग गरे । गोरखापत्रबाट













