धनगढी । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ को अवसरमा स्वास्थ्य कार्यालय कैलालीले आज सामान्य स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
जेष्ठ नागरिक जिल्ला संघ रामजानकी मन्दिरमा सामान्य स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको हो ।
“सभ्य समाजको आधार : ज्येष्ठ नागरिक मैत्री घरपरिवार” भन्ने मुला नाराका साथ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ मनाइएको छ ।
कार्यक्रममा करिव १ सय ३० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए । वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो ।
नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । नेपालको संविधान,२०७२ को धारा (४१)मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।
यसैगरी ज्येष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।
ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी ज्येष्ठ नागरिकहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नाराले सार्थकता पाउने छ ।
अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन् । उनीहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्न आवश्यक भएको सरोकारवालावाला बताउँछन ।


















