धनगढी । सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
यही माघ २२ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने खोप अभियानमा प्रदेशका नौ वटै जिल्लाका उक्त किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको हो ।
प्रदेश खोप समन्वय समिति सचिवालय डोटीले आज धनगढीमा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालाको अभिमुखिकरण कार्यक्रममा खोप अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने जनाइएको छ ।
कार्यक्रममा निर्देशनालयका खोप स्रोत व्यक्ति मीनराज जोशीले प्रदेशभरी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ लाख ४५ हजार ८ सय ९४ र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५ हजार ३ सय ७९ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने बताए ।
उनले अछाममा १३ हजार ९ सय २१,कैलालीमा ५० हजार ६ सय १३,दार्चुलामा ७ हजार २ सय ९१,बैतडीमा १३ हजार ५ सय ६४,डडेल्धुरामा ६ हजार ९ सय ८६,डोटीमा ११ हजार ४ सय ८७,बाजुरामा ७ अजार ८ सय ९४,बझाङमा १२ हजार ३५ र कञ्चनपुरमा २७ हजार ५ सय किशोरीलाई खोप लाइने जानकारी दिए ।
खोप अभियानमा प्रदेशभरी २ हजार ८ सय ७ स्वास्थ्यकर्मी र ५ हजार ५ सय ९८ स्वयंसेवक परिचालन हुने उनले बताए । खोप अभियानमा एक खोप केन्द्रमा १ स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक परिचालित हुने उनले बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा खगेन्द्र बमले सरकारले ठूलो प्रयासले खोप ल्याएको बताउँदै यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे ।













