धनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र कञ्चनपुरको महेन्द्रनगरस्थित अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
स्वस्तिकका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालन रहेको मेडिकल कोर्षका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको अवसर प्रदान गर्ने उल्लेख छ ।
‘विद्यार्थीद्वारा अस्पतालमा स्थलगत अवलोकन, इन्टर्नशिप तथा अन्य किसिमका सिकाइहरूका लागि समन्वय गरिनेछ,’ सम्झौतामा उल्लेख छ, ‘अस्पताल प्रशासनबाट कलेजका विद्यार्थीहरूसँग सिकाइ कक्षा, अन्तरक्रिया तथा गेष्ट लेक्चर लगायतका कार्यक्रम गरिने छन् ।’
अस्पतालले कलेजमा आवद्ध हरेक विद्यार्थी, कर्मचारी र विद्यार्थीका परिवारका सदस्यहरूलाई तोकिएबमोजिम छुट सुविधा दिने अध्यक्ष तिवारीले जानकारी दिए ।
अस्पतालमा २४ घण्टा आपतकालीन सेवा, सर्जिकल सुविधा, आईसीयू, भेन्टिलेटर, निजी क्याबिन, विशेषज्ञ चिकित्सा सेवा, सामान्य ज्वरो, रुघाखोकी, पाचन सम्बन्धी समस्या, उच्च रक्तचाप, सुगर, थाइराइड, ग्याष्ट्रिक, कलेजो तथा श्वासप्रश्वास सम्बन्धी उपचार, नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगहरूको व्यवस्थापन र परामर्श, शल्यक्रिया, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, मूत्ररोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, न्यूरो शल्यक्रिया, चर्मरोग तथा यौन रोग विशेषज्ञ, एनेस्थेसिया सघन उपचार लगायत सुविधा उपलब्ध छन् ।
नयाँ वर्षसँगै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको अस्पतालले विभिन्न क्षेत्रका संघसंस्था र निकायसँग सहकार्य गर्ने नीति लिएको अध्यक्ष तिवारीले बताए । अस्पतालले सम्झौता गरेका संस्थाको परिचयपत्र वा सदस्यता कार्डका आधारमा छुट सुविधा प्रदान गर्ने जनाइएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई अमिटी कलेजले स्नातक तहमा हेल्थ म्यानेजमेन्ट र बीबीए कोर्ष अध्यापन गराउँदै आएको छ । कलेजमा ५३३ विद्यार्थी अध्ययनरत छन् ।














