धनगढी । स्वास्थ्य निर्देशनालय डोटीले स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यलय कैलालीको समन्वयमा आज धनगढीमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग पैरवी कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्वस्थ जीवन शैली र सुदूरपश्चिममा स्वास्थ्यको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो । प्रादेशिक आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा.ओमप्रकाश कलौनीले स्वस्थ जीवन शैली,आयुर्वेद उपचार विधि,उपयुक्त आहारलगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए ।
उनले स्वस्थ रहन नियमित व्यायामसँगै योग पनि आवश्यक हुने बताए । शरीर स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण,शारीरिक सक्रियता बढाउने,पोषणको सही छनोट,सन्तुलित आहारको प्रयोग,भोजनमा अन्नको नियन्त्रण,तनाव व्यवस्थापन लगायतमा ध्यान दिनु पर्ने उनले बताए ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ७३ प्रतिशत मात्रै रहेको बताए । उनले १५ देखि १९ वर्षका गर्भवतिको संख्या १७ हजार पाँच सय १५ रहेको बताए । गर्भवति अवस्थामा आइरनचक्कीको खाने ५८ प्रतिशत,चार पटक गर्भजाँच गर्ने महिला ६१ प्रतिशत रहेको उनले बताए ।
परिवार नियोजनका साधान ४७ प्रतिशतले प्रयोग गर्ने गरेको,८५ प्रतिशतले मात्रै सबै प्रकारका खोप पाएको,पछिल्लो समय नसर्ने रोगबाट बढी मानिसको मृत्यु हुने गरेको,२०८०/८१ मा अनुमान गरिएकामध्ये ५७ प्रतिशत क्षयरोगका बिरामी पत्ता लागेको उनले बताए ।
त्यस्तै,सुदूरपश्चि प्रदेशमा २३ प्रतिशत नागरिकमात्रै स्वास्थ्य बीमाको पहुँचमा भएको तथ्यांक उनले प्रस्तुत गरे । उनले प्रदेशभरी १९ वटा मात्रै सरकारी अस्पताल रहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्यका बारेमा संवेदनशील हुनुपर्ने बताए । उनले भने ‘स्वास्थ्य सापेक्षित कुरा हो,शारीरिक अवस्था मात्रै नभएर मानसिक र सामाजिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।’
सुदूरपश्चिम स्वास्थ्यमा धेरै कुराहरु भएको भएपनि केही सूचकमा खस्केको उनले बताए । स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम अध्यक्ष भरत शाहले समर्ग स्वास्थ्य क्षेत्रमा भएका प्रगति ,आबश्यक हुनुपर्ने कामका बारेमा संचारकर्मीले कलम चलाउन आबश्यक रहेको बताए । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मिन बहादुर धामीले गरेका थिए ।














