धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शाहीको शव मंगलबार बिहान सवा ८ बजेको समयमा उनको दुई तले घरको सुत्ने कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । प्रारम्भीक अनुसन्धानमा शाहीको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाटीमा समेत चोट देखिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको जनाइएको छ । घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













