धनगढी । कैलालीको चुरे गाउँपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई बिहीबार विपद् सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाभित्र रहेका ईलाका प्रहरी कार्यालय फल्टुडी, खानीडाँडा र घरखेडा प्रहरी युनिटलाई गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले ती सामग्री हस्तान्तरण गरेका हुन् । प्रहरीका ती युनिटलाई रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुट लगायत अतिआवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत कालीप्रसाद भट्टले जानकारी दिए ।
विपद्का बेला प्रहरी पहिलो पङ्क्तिमा रहेर खट्ने भएकोले प्रदान गरिएका सामग्रीले खोज तथा उद्धारमा सघाउ पु¥याउँन मद्दत मिल्ने उनले बताए ।
पहिलो पटकका लागि थोरैमात्रै सामग्री उपलब्ध गराइएपनि आगामी दिनमा प्रहरीलाई आवश्यक विपद् सामग्री प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।













