डडेल्धुरा । डडेल्धुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित भएको छ। शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले राष्ट्रिय खोप तालिकाअनुसार जिल्लाभरिका दुई वर्ष मुनिका बालबालिकाले आवश्यक सबै १३ प्रकारका खोप समयमै लगाइसकेकोले डडेल्धुरा पूर्ण खोप जिल्ला घोषित हुन सफल भएको बताए ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको ती खोपहरू भित्र भ्यागुते, लहरे खोकी, धुनष्टंकार, हेपाटाइटिस बी, जापानीज इन्सेफ्लाइटिस, दादुरा, रुबेला, निमोनिया लगायतका रोगविरुद्धका खोपहरू पर्दछन् । जुन प्रायः १५ महिनाभित्र लगाइन्छ।
कार्यालय प्रमुख साउँदले यस उपलब्धिमा स्वास्थ्य कार्यालय डडेल्धुरा,सातै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, तथा स्थानीय तहका सामाजिक विकास संयोजकहरूको विशेष भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा अभियानमा विशेष योगदान पुर्याउने सात जना स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद रु ५ हजार, सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो।
यस्तै, खोप सुरक्षा, भण्डारण, ढुवानी लगायतका कार्यमा उत्कृष्ट योगदान गर्ने कर्मचारी हेल्थ असिस्टेन्ट धर्म ऐरी, कम्प्युटर अपरेटर करिस्मा भट्ट तथा सात पालिकाका खोप कार्यकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
समारोहमा बोल्दै राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य क्षेत्रमा देखिएको प्रगति सह्रानीय भए पनि समाजमा अझै महिला हिंसा, मद्यपान, आत्महत्या जस्ता समस्याहरू कायम रहेको बताइन् । उनले अब स्वास्थ्यसँगै सामाजिक व्यवहार परिवर्तनमा पनि ध्यान दिनुपर्ने बेला आएको बताइन् ।
कार्यक्रममा युनिसेफ, रुडुक,MPDS, IDAS, महिला मुक्ति समाज डडेल्धुरा लगायतका संघसंस्थाहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, परशुराम नगरपालिकाकी उपप्रमुख विमलाकुमारी बोहरा, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए।













