कैलाली । कैलाली करागार जस्तो घटना पुनरावृति हुन नदिन विद्यमान सुरक्षा चुनौतीहरुको समग्र समीक्षा र मुल्याङ्कन गरी थप सुरक्षा व्यवस्था मिलाईएको छ ।
आज जिल्ला प्रशासन कार्यालय कैलालीले प्रेश विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल र कारागार विभागबीच आबश्यक समन्वय,सहयोगमा थप सुरक्षा व्यवस्था मिलाईएको जनाएको छ ।
यस सम्बन्धमा जिल्ला सुरक्षा समिति कैलाली पनि पुर्ण सतर्कता र प्रतिबद्धताका साथ सम्बद्ध निकायहरुलाई आवश्यक निर्देशन तथा सहयोग गरिरहेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
शुक्रबार राती कारागार भित्र कैदीबन्दीहरुबीच उत्पन्न भएको झडपमा ४७ जना घाईते कैदीबन्दीको उपचार आबश्यक पर्ने कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कारागार विभागसँग समेत समन्वय भईरहेको विज्ञप्तीमा भनिएको छ ।
गम्भीर प्रकृतिका घाईते कैदीबन्दीहरुलाई सम्वन्धित अस्पतालको सल्लाहमा सुविधा सम्पन्न अस्पतालसँग समन्वय गरी उपचारको व्यबस्था मिलाउने गरी आवश्यक समन्वय पनि भईरहेको उल्लेख छ ।
शुक्रबार राती कारागार भित्र कैदीबन्दीहरुबीच उत्पन्न भएको झडपमा ४७ जना घाईते हुनाका साथै ३६ बर्षका कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो ।














