कैलाली । कैलालीको गोदावरी नगरपालिकाका-६ लालपुरका कृषक ईन्द्रबहादुर चौधरी उखुखेतीमा जमेका छन् । ३ बिगाह जमिनमा उनले उखुखेती गरेका छन् । विदेशमा गएर काम गर्नु भन्दा आफ्नै देशमा केही गर्नु पर्छ भनेर आफूले उखुखेती सुरु गरेको उनले बताए ।
आर्थिक अवस्था कमजोरका कारण पढ्न नसको बताउँदै उनले ३ कक्षामै पढाइ छोड्नु परेको बताए । ‘बुवाले कृषि पेसा त गर्नु हुन्थ्यो घरखर्च चलाउन मुस्किल हुने , साथीहरु विदेश जान थाले म पनि विदेश जाने सोच बनाउँदै थिए’ उनले भने ‘पछि एकाएक सोचमा परिवर्तन आयो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर करिब १४ बर्ष गुडमिलमा काम गरे ।’
उनले भने ‘गुड पकाउने र ट्याक्टरमा उखु ओसारपसार गर्ने काम थियो । जति काम गरे पनि जीवनस्तरमा सुधार नहुन थालेपछि आफैले उखुखेती गर्न थाले ।’ अहिले उखुखेतीबाट सिजनमा ३ लाख ५० हजार आम्दानी गर्ने गरेको उनले बताए । उनले भने ‘उखुखेतीमा अन्य केही समस्या हुँदैन । गर्मी सिजनमा अलि समस्या हुन्छ । गर्मीबाट बचाउन पानी चार्नु पर्छ ।’
एक बिगाह जमिनमा एक सय किलो बीउ लाग्ने उनले बताए । उनले भने ‘जमिन मलिलो छ भने ७० किलो बिउ लाग्छ, छैन भने अलि बाक्लो लगाउनु पर्छ ।’ उनले उखुखेती गरेको दुई सिजन भएको र कमाई राम्रै भइरहेको बताए । उनले भने ‘६ जनाको परिवार छ । यसैबाट घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च चलिरहेको छ ।’
बजारको समस्या नभएको र उत्पादन भएको उखु नजिकैको गुडमिलले खरिद गर्ने गरेको उनले बताए । उनले भने ‘आफ्नै ट्याक्टर पनि छ । सिजनमा उखु ढुवानी गर्छु । अन्य समय ढुङगा,गिट्टी बालुवा लगाएतका सामाग्री ढुवानी गर्ने गरेको छु।’
उनले भने ‘काम त आफ्नै गरेको राम्रो नी । धेरै बर्ष अरुकोमा काम गरे । खर्च चलाउन हम्मेहम्मे थियो तर आजभोलि त्यस्तो छैन । मजाले घर खर्चसंगै बचत पनि हुने गरेको छ ।’
पहिलाको भन्दा अहिले जीवनस्तरमा राम्रै सुधार हुँदै गएको उनको भनाइ छ । १० बिगाह जमिनमा उखुखेती लगाउने भन्ने योजना भएपनि मल समयमा नपाइनुले लगाउन नसकिएको उनले बताए । गहुँ, धानखेती भन्दा उखुखेतीमा राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ । एक बिगाह जमिनमा धानखेती पनि गरेको उनले बताए ।
उनले भने ‘अहिले ठिकै छ । ६ कोठाको पक्की घर निर्माण गरेको छु । छोरा ८ कक्षामा निजी विद्यालयमा पढ्दै छ । दुई छोरी पहिला निजी विद्यालयमा पड्दै थिए । अहिले सरकारी स्कुलमा पढ्दैछन् ।’
उनले भने ‘पहिला काम गर्ने कोही थिएन । म भन्दा कान्छो भाइ थियो । बुवाको कृषि पेसाले घरखर्च चलाउन मुस्कील हुने भयो । त्यसैले मैले पढाइ छाड्नु पर्यो ।’ नेपालमा कृषकको समस्या बुझ्ने कोही पनि नभएको उनले बताए । सरकारले गरि खाने कृषकलाई राहत मिल्ने खालका योजना ल्याउन आवश्यक रहेको उनले बताए ।













