धनगढी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको हुँदा आन्दोलन गर्नु परेको प्याब्सनका केन्द्रीय उपाध्यक्ष ललितराज पन्त बताए ।
विधेयकबाट ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश र ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउन र हाल कायम रहेको १०% छात्रवृत्तिको प्रावधानलाई निरन्तरता दिनुपर्ने माग आफूहरुको माग रहेको उनले बताए ।
विरोध स्वरुप श्रावण २९ अध्यक्ष÷मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउने,श्रावण ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने, भाद १ गते प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
त्यस्तै, भाद्र २ गते आ–आफ्नो निर्वाचन क्षेत्रका सङघीय प्रतिनिधि सभा/राष्ट्रिय सभा सांसदहरूलाई ज्ञापन पत्र बुझाउने,भाद्र २ गते बेलुका सुझाव संकलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने,भाद्र ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने कार्यक्रम रहेको जनाइएको छ ।
भाद्र ४ गते प्रत्येक जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने,भाद्र ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक वस्ने र भाद्र ६ र ७ गते केन्द्र प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने प्याब्सनले जनाएको छ ।













