धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम अघि बढ्ने बताएका छन ।
सोमबार कैलालीको अत्तरियामा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए ।
उनले अहिले संविधान संशोधनको वातावरण नबनेको बताए ।
उनले भने ‘संविधान संशोधनका लागि वातावरण बनाउनुपर्छ । राष्ट्रिय सभामा सत्तारुढ प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छन । दुबै दल मिलेर सफलता प्राप्त गर्छौं । अनुकुलता निर्माण गर्छौं । त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’
नेपाली कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको उनले दाबी छ ।
पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताए ।
त्यस्तै,उनले राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने पनि बताए ।
उनले भने ‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ, जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ उहाँहरुको अधिकार खोसियो भन्ने भाष्य चाहिँ ठीक होइन ।’















