धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारसँगको निरन्तर संवाद र छलफलबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताएका छन् ।
सोमबार स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘संघीय सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने छ ।’
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघर्ष समितिले ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्त गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहलाई संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’लगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।















