बुढीतोला(कैलाली) । कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा सञ्चालित बाख्रा आनुबंशिक श्रोत केन्द्रले गत आर्थिक वर्षमा ३५९ पाठापाठी विक्री गरेको छ ।
केन्द्रले खयर र बोयर गरी गत वर्ष ३५९ पाठापाठी विक्री गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा २५० पाठापाठी विक्रि गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ पशु विकास अधिकृत पशुपती नाथले गत वर्ष ३५९ पाठापाठी विक्रीबाट २५ लाख ५० हजार राजश्व संकलन भएको बताए । उनले अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा २५० पाठापाठी विक्री गर्दा २१ लाख ११ हजार राजश्व संकलन भएको बताए ।
केन्द्र प्रमुख नाथका अनुसार चालु आर्थिक वर्षमा खयर र बोयर जातका बाख्राको व्यवस्थापनका लागि रु. ६७ लाख ७० हजार बजेट विनियोजन भएको छ ।
बाख्रा आनुबंशिक श्रोत केन्द्रमा हाल बोयर जातका ३९ माउबाख्रा, बोयर क्रस ४१ र खरी जातका २०० माउ बाख्रा रहेको बताए ।
केन्द्रमा माग अनुसार बोयरभन्दा खरी जातका पाठापाठीको माग उच्च हुने गरेको छ । स्थानीय कृषकले बोयर जातका भन्दा खरी जातका पाठापाठी लिने गरेका छन् ।
स्थानीय हावापानीमा बाख्रापाल्न र उत्पादनका हिसाबले पनि बोयर भन्दा खरी जातका बाख्रा रोज्ने गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रमा पाठापाठीको माग बढी भएमा २० वटा बाह्य स्रोत समूहमार्फत उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख नाथको भनाई छ ।













