धनगढी । अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगरबाट उपचार गर्न गएकी थिइन्। उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।
बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ किलोमिटर दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।















