धनगढी । डोटीको जोरायल गाउँपालिका वडा नं. ५ को कार्यालयले गाउँबाट सहर आएर शिविरमार्फत सेवा दिँदा ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । जोरायल गाउँपालिका–५ घर भइ कैलालीका विभिन्न ठाउँमा बस्ने ज्येष्ठ नागरिक वडाको सेवाबाट लाभान्वित भएका हुन् ।
वडा कार्यालयका सचिव विनोद रजवारका अनुसार कैलालीको धनगढी र अत्तरियामा शिविर सञ्चालन गरि ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र बायोमेट्रिक विधिबाट नवीकरण गरिएको हो ।
गत साउन २९ र ३० धनगढीमा सञ्चालन गरिएको शिविरबाट ६० जना ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको उनले बताए ।
त्यस्तै, यही भदौ २ गते अत्तरियामा सञ्चालन गरिएको शिविरबाट सामाजिक सुरक्षाका २९ जना लाभग्राही लाभान्वित भएको उनले बताए ।
गाउँसम्म जान यातायातको सहज पहुँच नभएकाले वृद्धवृद्धालाई सहज होस् भन्ने उदेश्यले यतै आएर ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको उनले बताए ।
गाउँपालिकाको पञ्जीकरण शाखाको सहजिकरणमा शिविर सञ्चालन गरिएको उनले जानकारी दिए । वडासचिव रजवारले वडाको शिविर सञ्चालनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।
वडाको पञ्जिकरण शाखाले जहाँ सेवाग्राही त्यही सेवा दिँदा ज्येष्ठ नागरिकलाई सहज भएको जोरायल गाउँपालिका–५ गडसेराका स्थानीय रविन्द्र देउवाले बताए ।
उनले भने ‘वडा सचिवज्यूको पहलमा पञ्जिकरण शाखाले गरेको काम धेरै राम्रो छ । यसले ज्येष्ठ नागरिक,अशक्त,बिरामीलाई सहज भयो । वर्षातको समयमा सडक अवरुद्ध हुँदा आवतजावतमा पनि समस्या थियो । मलाई यो वडाको उत्कृष्ठ कार्य लाग्यो ।’
उनले सामाजिक सुरक्षाको ‘वायोमेट्रिक’ गर्ने सर्भर राम्रो नुहँदा सेवाग्राहीले दुःख पाउने अवस्था भएको बताए । उनले भने ‘सर्भर राम्रो नचल्ने रहेछ । सर्भरले गर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने रहेछ । यसमा सरकारको ध्यान जान अवश्यक छ ।’















