धनगढी । आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को गुणस्तर परीक्षणपछिको नतिजामा कैलालीको घोडाघोडी नगरपालिका सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको लिजाको नतिजामा घोडाघोडी नगरपालिका ८५.५० अङ्कसहित प्रदेशमै पहिलो भएको हो ।
त्यस्तै,बाजुराको बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित दोस्रो र कैलालीको धनगढी उपमहानगरपालिका ८४ अङ्कसहित तेस्रो भएको छ ।
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा बैतडीको मेलौली नगरपालिकाले भने सबैभन्दा कम अंक प्राप्त गरेको छ । मेलौली ३१.२५ अङ्कसहित अन्तिममा रहेको छ ।
शासकीय प्रवन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरि १० ओटा सूचकको आधारमा स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने गरिएको छ ।
प्रदेशमै पहिलो भएको घोडाघोडी नगरपालिकाले शासकीय प्रवन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ र वित्तीय एवं आर्थिक व्यवस्थापन ९.७५ अंक प्राप्त गरेको छ ।
त्यस्तै, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादनमा ७ , भौतिक पूर्वाधार १०.५०,सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५०, सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरेको छ ।
घोडाघोडी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का खडकबहादुर रावत नगरप्रमुख छन् ।













