कैलाली । काम गर्न उमेरले छेक्दो रहेनछ । बिहानको समय आफ्नो नित्य कर्म सकेर ८ बजे ठेला लिएर जंगलको किनारमा उभिन्छन् र ग्राहकको प्रतिक्षामा हुन्छन् कैलारी गाउँपालिका-४ हसुलिया ‘के’ गाउँका भुवनसिंह बखरिया । उमेरले ७५ बर्षका उनी चटपटेको व्यापार गर्छन् । ८ बजे घरबाट निस्किएर साँझ ६ बजे घर जाने उनको दैनिकी जस्तै बनेको छ ।
आर्थिक अवस्था कमजोर भएका उनले दिनरात नभनी हसुलिया पुल नजिकको जंगल किनारामा ठेलाबाट चटपटेको व्यापार गर्न थालेको २० बर्ष भयो । सोही व्यापारवाट ५ जना परिवारको घर खर्च टार्दै आएको उनले बताए । काम सानो ठूलो नहुने र यही व्यापारबाट आरामले गुजारा चलिरहेको उनले बताए । दैनिक रु एक हजार ५ सयको चटपटे बिक्री हुने गरेको उनले बताए । सबै खर्च कटाएर दैनिक एक हजार बचत हुने गरेको उनको भनाइ छ ।

‘छोराहरु ठूला हुँदै गए विवाह पनि भयो । पछि सम्पति बाड्नु पर्ने अवस्था आयो । दुई जना छोराहरुलाई ५/५ कठ्ठा जमिन भाग परेको छ’ उनले भने ‘जेठो छोरा पढेलेखेको छ रोजगारी गरेर कमाउँछ । कान्छो छोराको रोजगारी छैन,काम त खोज्छ पाउँदैन ।
उनले भने ‘कान्छी बुहारी अपाङ्ग छ । एक नातिनी छ ।कान्छो छोराको नाजुक अवस्था देखेर म र मेरो श्रीमती कान्छो छोरासँग बस्दै आएका छौँ ।’
उनले भने ‘जिविका चलाउन केही काम गर्नुपर्छ भनेर ठेलामा चटपटे बेचिरहेको छु । ठेलाको व्यापार गर्न थालेको २० बर्ष कटेको पत्तोनै भएन । ५ कठा जमिनबाट के हुनु खानलाई धौ धौ पुग्छ । अन्य खर्च व्यापारबाट चल्छ ।’
पहिला हनुमान मन्दिर अगाडि ठेला लगाएर चटपटे बेच्ने गरेको र त्यहाँको पूजारीले ठेला अन्तै लैजान भनेपछि अहिले जंगल किनारामा व्यापार गर्दै आएको उनले बताए । यहाँ चटपटेको व्यापार गर्न थालेको एक बर्ष जति भएको उनले बताए । सडकमा यात्रा गर्ने यात्रुले चटपटे किनेर लग्ने गरेको उनले बताए ।
मोटरसाइकलमा यात्रा गर्ने यात्रुले बढी चटपटे किनेर खाने गरेको उनले बताए । कहिले काहीँ बस, कार ,ट्रकमा यात्रा गर्ने यात्रु र गाडी चालकले चटपटे किनेर खाने गरेको उनले बताए । कहिले काहीँ दुई हजार पाच सयसम्मको व्यापार हुने गरेको उनको भनाइ छ ।
उनले भने ‘कम बिक्री भएको दिनमा एक हजार जतीको व्यापार भइहाल्छ । व्यापार गरेकै कारण यतिका बर्षसम्म जीवनयापन सहज चलिरहेको छ ।’
समयको सदुपयोग हुनुका साथै समय कटाउन सहज भएको उनले बताए । ‘घरमै बसेको भए समय बिताउन समस्या हुने थियो । म खुशी नै छु’ उनले भने ‘बाचुन्जेलसम्म व्यापार गर्न छोड्दैन । कर्मको फल मीठो हुन्छ ।’ आफू कर्म गर्न नछोड्ने उनको तर्क छ । काम गर्दा दु:ख हुने बताउँदै उनले राम्रो कामको दु:ख राम्रो नै हुने बताए ।













