धनगढी । वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ। आजदेखि वडा नं ७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ।
नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम गरिएको छ। नगर प्रहरी प्रमुख सन्धु चौधरीका अनुसार पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकीडाँडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २ सय भन्दा बढी गाईबस्तुको व्यवस्थापन गरिएको छ ।
छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीमा क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएका थिए। सुदूरपश्चिमको प्रदेश स्थायी राजधानी समेत रहेको गोदावरी नगरपालिकाले प्रदेश सरकारसँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माण गरेको हो।
‘यो गौशाला निर्माणको दुई वर्षदेखि क्रमिक रूपमा अन्य संरचना निर्माण र गाईबस्तु व्यवस्थापन गर्दै जाने गरी दीर्घकालिन योजनामा रहेको छ’,
नगरप्रमुख बीरेन्द्र भट्टले भने ‘किसानहरूले मलको अभाव भोगिरहेका छन्। गौशालाले मलमुत्र उपलब्ध गराएर कृषि क्षेत्रमा समेत योगदान पुर्याउनेछ । यस स्थानमा गौशाला निर्माण गर्नु आवश्यक थियो भन्ने सन्दर्भमा योगी पिताम्बरज्यूले पनि साथ दिनुभयो।’
उनले भने ‘गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्पराअनुसार गाईको पूजा गरिन्छ। तर पछिल्लो समय गाईलाई सडकमा हेला बनाइएको देख्दा अचम्मित हुने अवस्था थियो। हामीले ढिला भएपनि गौशालाको निर्माण गरी गाई संरक्षण, मलमुत्रको उपयोग र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छौं।’













