धनगढी । स्वास्थ्य कार्यालय कैलालीले अवैधरुपमा जडिबुटी औषधी भन्दै विक्री वितरण गर्ने कार्यलाई नियन्त्रण गर्न थालेको छ । कार्यालयले जिल्लाका विभिन्न बजार क्षेत्रमा अवैधरुपमा जडिबुटी औषधी भन्दै विक्री वितरण गर्ने कार्यलाई नियन्त्रणमा लिन थालेको हो ।
कार्यालयको टिमले आज धनगढीस्थित बजार क्षेत्रमा यस्ता अवैधरुपमा औषधी जडिबुटी भनि विक्री वितरण गर्नेलाई हटाएको छ ।
दर्ता नभएका सडकछेउमा बसेर अवैधरुपमा औषधी जडिबुटी भन्दै विक्री वितरण गर्ने विक्रेतालाई सचेत गराइ हटाउन लगाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रयोगशाला निरीक्षक दीपक जोशीले जानकारी दिए ।
उनले भने ‘न त ति विक्रेताले कुनै निकायमा व्यवसाय दर्ता नै गरेका छन् । न ती औषधी प्रमाणित छन् । सडकमा अवैधरुपमा विक्री वितरण भइरहेको छ । औषधी जस्तो कुरा विक्री गर्न सम्बन्धित निकायमा दर्ता त हुनु प¥यो । अहिलेलाई सम्झाइबुझाइ हटाएका छौँ । अटेर गरे कारबाही हुन्छ ।’
स्वास्थ्य जस्तो सम्बेदनशील बिषयमा खेलबाड गर्न नहुने उनको भनाइ छ । सडक किनारामा औषधी भन्दै विभिन्न व्यक्तिहरुले जडिबुटी विक्री वितरण गर्दै आएका छन् ।
स्वास्थ्य कार्यालय कैलालीले कसैले जिल्ला भित्र कहिकतै यस्ता खालका विक्री वितरण देखेमा फोटोसहित जानकारी गराउन समेत आग्रह गरेको छ ।














