धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको बताएका छन्।
सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘हामी सुदूरपश्चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौं’ मुख्यमन्त्री शाहले भने ‘यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौं ।’ मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरे । सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न मुख्यमन्त्री शाहले आह्वान गरे ।
सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।
शुक्रबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा भएको अन्तर्क्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।













