धनगढी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेश्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ ।
सप्तमीको दिन ब्रतालु महिलाहरुले सामूहिक रुपमा फाग गाएर गौरा देवीको पूजा गर्ने चलन रही आएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।
उनले भने ‘सप्तमीको दिन गौरा भित्र्याउने चालन छ । आज सप्तमी भएकाले गौरा भित्र्याएर पूजाआजा गर्ने गरिन्छ ।’ उनले ब्रतालु महिलाले आजको दिन गौरालाई बिरुणाले पूजा गर्ने परम्परा रहेको बताए ।
उनले नजिकैको खेतबारीमा साँउ, अपामार्ग,तील लगायतका पाँच वटा वनस्पतिबाट गौराको प्रतिमूर्ती बनाइ घरमा ल्याइ पूजाआजा गर्ने चलन रही आएको बताए ।
आजदेखि नै खेल खेल्ने,देउडा खेल्न सुरु हुने उनले बताए । गौरापर्वको मुख्य दिनको रुपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन भोलि गौराष्टमीमा महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । गौरा पर्वमा ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्नुका साथै डेउडा खेलेर रमाइलो गर्ने गरिन्छ । गौरा सुदूपश्चिमेलीहरुको मौलिक पर्व पनि हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मनाइने यो पर्व पछिल्लो समय तराइका कैलाली कञ्चनपुर हुँदै काठमाण्डौ तथा विदेशमा समेत मनाउन थालिएको छ ।















