धनगढी । कैलालीको धनगढीमा नेशनल बाथरोग सेन्टरको उद्घाटन भएको छ । शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त शाखाको आज धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष मुडभरीले बाथरोगको चेकचाँच तथा उपचार यही हुनु खुशीको कुरा भएको बताए ।
उनले बाथरोग सेन्टरको स्थापनाले बाथरोगका बिरामीले धेरै खर्च गरेर चेकजाँचका लागि बाहिर जानुपर्ने समस्या घट्ने विश्वास व्यक्त गरे । उनले सेन्टरलाई गरिब तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिन समेत आग्रह गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नेशनल बाथरोग सेन्टरका अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैधले हात खुट्टा दुखाइ हुने मात्रै नभएर बाथरोग विभिन्न किसिमका हुने बताए ।
उनले भने ‘यहाँका बिरामीले काठमाण्डौँ गएर उपचार गर्नुपर्ने अवस्था देखियो । धेरै खर्च गर्नुपर्ने अवस्था छ । एउटा सामान्य परीक्षणका लागि पनि बाहिर जानुपर्ने अवस्था छ । त्यो समस्या कम गर्न,त्यो खर्च कम गर्न हामीले यहाँ शाखा सञ्चालनमा ल्याएका हौँ ।’
बाथरोग सेन्टरको बाथका प्रकार,उमेर समूहलगायतका सबै कुराहरुलाई हेरेर त्यो अनुसार उपचार गर्ने उदेश्य रहेका उनले बताए । एउटामात्रै बाथरोग विशेषज्ञ आएर उपचार गर्ने नभएर बाथरोगको टिमले आएर सम्भव भएका काठमाण्डौँमा दिने सेवा यहाँ प्रदान गरिने उनले बताए ।
नेशनल बाथरोग सेन्टर प्रबन्ध निर्देशक रोशन कक्षपतीले नेपालमै बाथरोगको विश्वस्त स्तरीय स्वास्थ्यसेवा दिने उदेश्यले १२ वर्ष अघि काठमाण्डौँमा बाथरोग सेन्टर स्थापना गरिएको बताए ।
उनले देशभर बाथरोग सेन्टरका ८ जिल्लामा शाखा सञ्चालनमा रहेको बताउँदै धनगढीमा स्थापना गरिएको नवौँ शाखा भएको बताए ।
उनले सुदूरपश्चिमका बिरामीले काठमाण्डौँ गएर बाथरोगको स्वास्थ्य सेवा लिइरहेको अवस्थामा बिरामीलाई सहजताका लागि धनगढीमै शाखा स्थापना गरिएको बताए । उनले काठमाण्डौँ दिइने बाथरोगको उपचार सेवा अब धनगढीबाटै दिइने बताए ।
बाथरोगका सबै जाँचहरु अब यहाँ सम्भव हुने बताउँदै गरिब तथा विपन्न वर्गका बिरामीलाई स्थानीय तहको सिफारिसमा सहुलियतमा सेवा प्रदान गरिने उनले बताए ।























