कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको बताएका छन् ।
बुधबार लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, संग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास गर्दै उनले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताए।
सातै जिल्लाको भ्रमण सकेर फर्किएका मुख्यमन्त्री शाहले बाजुरा–बझाङ जस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै भने “तराईका क्षेत्रमा विकासले फड्को मारेको छ, अब विकास पहाड र दुर्गम बस्तीहरू केन्द्रित हुनुपर्छ।”
शिलान्यासका अवसरमा मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका ठूला परियोजनाहरू पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिए । उनले प्रदेशको सर्वांगीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उल्लेख गरे । जननिर्वाचित प्रतिनिधिहरूबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उहाँले संग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, संग्रहालय तथा पर्खाल निर्माणका लागि गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौंसँग रू १३ करोड १९ लाख ३ हजार २१४ रुपैयाँ ७ पैसामा ठेक्का सम्झौता भएको छ। यस परियोजनाको कुल लागत रू. २२ करोड ८९ लाख १७ हजार ७ रुपैयाँ ५६ पैसा रहने जनाइएको छ।
बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ।















