धनगढी । नेकपा (एमाले)का युवा नेता लोकेन्द्रबहादुर सिंह (एलबी) एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले एमालेको आसन्न ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुन् ।
एमालेको भूमिअधिकार श्रमिक संगठनका केन्द्रीय उपमहासचिव रहेका सिंहले आसन्न पार्टीको महाधिवेशनमा ४० वर्ष मूनिको कोटामा केन्द्रीय सदस्य बन्नका लागि आफ्नो सशक्त दाबी रहेको बताए ।
बझाङ घर भएका नेता सिंहले आफूले आजभन्दा २२ वर्ष अगाडि पार्टीको संगठित सदस्यता प्राप्त गरेको बताउँदै आफूसँग केन्द्रीय सदस्यका लागि आवश्यक योग्यता रहेको बताए ।
‘हुनै पर्छ भन्ने मेरो मान्यता छैन् । अटिएछ भने मात्रै हो । यदि नेतृत्वले आवश्यकता ठाने छ भने सुदूरपश्चिमको भागमा पर्ने युवा कोटामा मेरो पनि दाबी रहन्छ’ उनले भने ‘यदि नेतृत्वले आवश्यक नठाने ब्याक हुनुपर्छ भन्यो भने मैले ब्याक हुने परिस्थिति पनि आउन सक्छ ।’
उनले आसन्न महाधिवेशनमा पार्टीका नेता कार्यकर्ता विभाजनमा नगएर पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पुनः सर्बसम्मत नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।
उनले नेतृत्वमा आउने युवाहरु काम,संगठनका हिसाबले,कम्युनिष्ट आन्दोलनलाई वैचारिक हिसाबले हाक्न सक्ने, कम्युनिष्ट आन्दोलन बुझेका मान्छेहरु आउनुपर्ने बताए । आफू एक सक्षम युवा भएकाले नेतृत्वको रोजाइमा पर्ने उनको विश्वास छ ।
यस्तो छ सिंहको राजनीतिक यात्रा
विद्यार्थी राजनीतिबाट आएका सिंह २०५७ सालमा खप्तड उच्च मावि बझाङमा अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष भएका थिए । २०६० जेठ २ गते नेकपा एमालेको संगठित सदस्यता पाएका सिंह २०६१ सालमा अनेरास्ववियुको जिल्ला कमिटी बझाङको सदस्य,२०६१ सालमै जयपृथ्वी क्याम्पस बझाङमा अनेरास्ववियुको प्रारम्भीक कमिटी अध्यक्ष,२०६२ सालमा जयपृथ्वी क्याम्पस बझाङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिवमा निर्वाचित तथा २०६२ सालमै अनेरास्ववियुको बझाङ जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।
२०६५ सालमा अनेरास्ववियुको सेती अञ्चल संयोजक,२०६७ सालमा अखिल फोर्सको इन्चार्ज,२०६८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०७० सालमा अनेरास्ववियुको केन्द्रीय लेखा आयोगको सदस्य भएर काम गरेको सिंहसँग अनुभव छ ।
त्यसपछि उनले विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज,अनेरास्ववियुको स्थायी कमिटी सदस्य हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव भएरसमेत उनले काम गरिसकेका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बझाङको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका सिंह झिनो मतान्तरले पराजित भएका थिए । उनी हाल एमालेको सक्रिय राजनीतिमा लागेका छन् ।













